समाजसेवी सुशिल खड्का : जनसेवामा निरन्तर सक्रिय

Aatmaram Thapa January 18, 2025
समाजसेवी सुशिल खड्का : जनसेवामा निरन्तर सक्रिय

समाजसेवी सुशिल खड्का : जनसेवामा निरन्तर सक्रिय

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका शुशिल खड्का सामाजिक अभियन्ता र राजनीतिकर्मी हुन्। सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएका खड्कालाई नुवाकोटको दुप्चेश्वर र छिमेकी गाउँपालिकाका बालकदेखि वृद्धसम्मले चिनेका छन्। व्यवसायमार्फत राजनीतिमा आएका खड्काले नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका हुन् ।

उनले पुल निर्माण, विद्यालयलाई शैक्षिक सामग्री वितरण, गरीब तथा असहायलाई आर्थिक सहयोगजस्ता काम गरेका छन् । कोरोना महामारीका बेला उनले स्वास्थ्य सामग्री र खाद्यान्न वितरणमा अग्रसरता देखाए।

दुप्चेश्वर-काठमाडौँ सम्पर्क समितिको अध्यक्ष हुँदै उनले क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन विस्तार गर्न भूमिका खेले। पार्टीभित्रको अन्याय र थिचोमिचोलाई सहने क्रममा उनले अन्ततः स्थानीय तहको निर्वाचनको मुखमा कांग्रेसबाट विद्रोह गर्दै नेकपा एमाले प्रवेश गरे।

एमाले प्रवेशपछि उनले पदको लोभ नभई जनताको सेवा नै आफ्नो उद्देश्य भएको बताएका थिए । दुप्चेश्वर गाउँपालिकाबाट एमालेका गापा अध्यक्षका उम्मेदवार योविन्द्रसिंह तामाङलाई सक्दो सहयोग गरे। योविन्द्र पछि कांग्रेसमा फर्केपनि खड्का एमालेमै क्रियाशील रहे । २०७९ सालको प्रदेश सभा चुनावमा एमालेबाट प्रदेश सांसदको उम्मेदवार बने पनि पराजित भए। हाल उनी नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति रहँदै समाजसेवामा सक्रिय छन्।

पञ्चकन्याका दिनदुखीलाई सहयोग

समाजसेवीको पर्यायका रूपमा चिनिएका एमाले नेता सुशिल खड्काको नाम जनसेवा र सहयोगका लागि अग्रस्थानमा आउँछ। प्रदेश सांसदको चुनाव हारे पनि समाजसेवा र मानवसेवामा निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

नेकपा (एमाले) पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रामनाथ खनालका अनुसार नेता सुशिल खड्काको सहयोगी भावना अनुकरणीय छ । दीनदुःखी र समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्न उनी जहिल्यै अघि सर्छन्। खड्कालाई “दानवीर” को संज्, “खड्काको योगदान प्रेरणादायक छ, हरेकको मनमा गढ्ने खालको छ।”

हालै खड्काले पञ्चकन्या गाउँपालिकाका दुई ठाउँमा महत्वपूर्ण सहयोग गरेका छन्। एमाले अध्यक्ष खनालका अनुसार कविलास, रातमाटे निवासी कृष्णबहादुर मिजारको असामयिक निधनपछि उनको परिवारलाई काजक्रिया सम्पन्न गर्नका लागि रु. २०,००० (बिस हजार) नगद सहयोग गरेका छन्। मिजार परिवार दलित, गरिब र विपन्न समुदायका हुन् । यस सहयोगले मिजार परिवारलाई राहत दिएको छ।

यस्तै पञ्चकन्या-५ भद्रुटारको जैंसीगाउँस्थित मुक्तानटोलमा रहेको मिलिजुली समूहलाई ४० वटा कुर्सी खरिदका लागि रु. २६,००० (छब्बीस हजार) सहयोग गरेका छन्। समूहका अध्यक्ष प्रेम बहादुर तामाङ र पार्टी कमिटीका उपसचिव सुमन मुक्तान लामाको विशेष अनुरोधमा सहयोग उपलब्ध गराइएको हो । सहयोगको लागि खड्कालाई स्थानीयले मुरीमुरी धन्यवाद दिएका छन्।

नवनिर्वाचित पञ्चकन्या एमालेका अध्यक्ष खनालले खड्काको मानवसेवाको योगदानलाई प्रशंसा गर्दै भने, ” यो सहयोग केवल सहयोगमात्र होइन, समाज र दिनदुखीप्रति ठूलो राहत हो।”