दुप्चेश्वर महादेवको इतिहास यस्तो जे माग्यो तेही पुरा हुने विश्वास

Aatmaram Thapa January 21, 2025
दुप्चेश्वर महादेवको इतिहास यस्तो जे माग्यो तेही पुरा हुने विश्वास

 

नुवाकोट,

दुप्चेश्वर महादेव

प्रकृतिको यो अनुपमेय कलाको वैभवले सिंगारिएका प्राकृतिक एवं सांस्कृति धरोहरमध्ये नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं ६ मा अवस्थित दुप्चेश्वर महादेवको प्राकृतिक शिवलिङ्गलाई प्रमुख रुपमा लिन सकिन्छ । दुप्चेश्वर प्रकृतिको अनुपमेय कलाद्वारा सिर्जित शिवलिंग हो । दुप्चेश्वरको धार्मिक महत्वलाई एकछिन थाँती राखेर यसको बनोटलाई मात्र हेर्ने हो भने पनि जो कोहीले अनुभव गर्न सक्छ कि दुप्चेश्वर सृष्टिको दिव्यकला नै हो ।

समुद्री सतहदेखी करीब ४ हजार फिटको उचाईमा रहेको दुप्चेश्वर मन्दिरलाई त्यहाँ पुग्ने दर्शनार्थीले अलौकिक, पे्ररणादायी र पुजनीय मान्दछन् । नुवाकोट सदरमुकाम विदुरदेखी करीब ३२ किलोमिटर उत्तरपूर्व र राजधानी काठमाडौंबाट ५५ किलोमिटर उत्तरमा अवस्थित यो शिवलिङ्ग एउटै विशाल शिलाको अर्धवृत्ताकार भागको केन्द्रमा रहेको छ । झट्ट हेर्दा शेषनागको फँणा भित्र बसे जस्तो देखिने उक्त शिवलिंग करीब साढे २ फिट अग्लो छ ।

दुप्चेश्वर महादेव कुनै धर्म विशेषका देवताका रुपमा मात्र सिमित छैनन् । दुप्चेश्वरलाई हिन्दु, बौद्ध, वोनलगायत सबै धर्मावलम्बीले सहअस्तित्वका रुपमा लिने गर्दछन् । दुप्चेश्वर महादेव मात्र यस्तो मन्दिर हो जहाँ हिन्दु र बौद्ध दुवै धर्मका पुजारी रहेका छन् । साथै, प्रकृति, भूगोल र पर्यावरणका साथै अनुपमेय प्राकृतिक कलाको वैभवले सिंगारिएकोले आम भक्तजन एवं दर्शनार्थी सबैका लागि यो देवस्थल अध्यात्मिक आकर्षणको केन्द्र बनेको छ । भक्तजनहरु यहाँ विभिन्न मनोकामना लिएर आउने गर्दछन् र मनोकामना पूर्ण भए पछि भाकल पुरा गर्न समेत आइपुग्छन् । खास गरेर, दुप्चेश्वर महादेव सन्तानेश्वर महादेवका रुपमा ख्याती प्राप्त मन्दिर हो ।

 

पूजापाठ, मेला र जात्राहरु
पवित्र तिर्थस्थल दुप्चेश्वरमा प्रत्येक वर्ष मार्ग शुल्क एकादशीबाट पूर्णीमासम्म भव्य मेला लाग्छ । जात्रामा लाखौं दर्शनार्थीले दुप्चेश्वर महादेवको दर्शन गर्छन् भने विभिन्न लोक सँस्कृति, कला र भेषभूषाको मनोहर झाँकीको प्रत्यक्ष अबलोकन गर्छन् । खासगरी शेर्पा नाच र झाँक्रीनाचले दुप्चेश्वरको जात्रालाई सुनमाथीको सुगन्ध थपिदिने गर्छ ।

यसका अतिरिक्त वालाचतुर्दशी, महाशिवरात्री, गंगा दशहरा, तीज, ऋषीपञ्चमी जस्ता चाडपर्वमा पूजाअर्चना सहित विशेष सांस्कृतिक मेला लाग्ने गर्दछ । अहिले बाटोघाटोको सहजताका कारण दुप्चेश्वर मन्दिरमा प्रत्येक दिनजसो नै भक्तजनको घुइँचो लागिरहेकै हुन्छ । मेला र जात्राहरुले एकातिर दुप्चेश्वर महादेवको महत्व त बढाएको छ नै, अर्कोतर्फ यस क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा समेत टेवा पुर्याउँदै आएको छ ।

हिजो आज प्रत्येक सोमबार र शनिबारको दिन पूजाआजा गर्न आउने श्रद्धालुजनको अझ विशेष भीड लाग्न थालेको छ । श्रद्धालुहरु पवित्र तिर्थस्थल गोसाँईकुण्ड आसपासको हिमाल र सूर्यकुण्डबाट निसृत जलप्रवाहले बनेको सूर्यमती नदीको निर्मल जलमा देह शुद्धि गरेर शिवजीको पूजा अर्चना गर्छन् ।

दुप्चेश्वर महादेवलाई छुट्टयाएर हेर्न सकिन्न । किनकी यो संयोग पनि हो, जहाँ शिव त्यहाँ शक्ति । शिव र शक्तिको यो अनुपम संगमले पनि दुप्चेश्वरको महिमा कयौँगुणा बढाएको छ ।

पछिल्लो समय दुप्चेश्वर मन्दिर–घ्याङफेदी–सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जोड्ने सबैभन्दा छोटो पदमार्ग बनेपछि दुप्चेश्वरको झनै प्रचार हुँदै गएको छ । गोसाइँकुण्ड तथा सूर्यकुण्डको जल दुप्चेश्वर महादेवलाई चढाएपछि मात्र तिर्थयात्रा पूर्णहुने धार्मिक विश्वासका कारण पनि ती कुण्ड स्नान गरेका तिर्थालुहरु एक पटक दुप्चेश्वर अवश्य आइपुग्छन् ।

 

 

MVI_9905
उत्पत्ति र सम्बन्धित किंवदन्तिहरु

दुप्चेश्वर महादेवको उत्पत्ति र हामीमाझ प्रकट भएका सन्दर्भमा विभिन्न किंवदन्तिहरु रहेका छन् । दुप्चेश्वर महादेवको उत्पत्ति त अनादि कालमै भएको विश्वास छ तर, हामी माझ प्रकट भने केही शताब्दी अघि मात्र भएको बताइन्छ । सयौँ वर्ष अघि बासे तामाङको हराएको गाईले उक्त स्थानमा दुध चढाइरहेको भेटिएकोबाट दुप्चेश्वर महादेव पत्ता लागेको हो ।

दुप्चेश्वर महादेवको नामका सन्दर्भमा केही तर्कहरु छन् । एउटा तर्कअनुसार दुग्धेश्वर अपभ्रंश भएर दुप्चेश्वर भएको मानिन्छ । यस तर्कमा प्रख्यात पुरात्त्व अन्वेशी योगी नरहरिनाथले आध्यात्मिक नेपालमा लेखेका छन्,‘ ‘शिवो दुप्चेश्वररो देवः सूर्यगङ्गातटेस्फुटः। गवा प्रकटितो दुग्धैर्यथा पशुपतिः पुराः। वर्षमध्ये महामेला धान्यपूर्णिमयान्विताः अर्थात् दुप्चेश्वर पनि पशुपतिनाथ जस्तै गरी गौमाताले दुग्धाभिषेकबाट प्रकट गरेकी हुन् जहाँ धान्यपूर्णिमाको अवसरमा विशेष मेला लाग्छ ।

अर्को तर्कअनुसार, डुप्चेश्वर अपभ्रंश भएर दुप्चेश्वर भएको बताइन्छ । तामाङ भाषामा डुप्चेको अर्थ चट्टान फुटेर निस्केको पवित्र पानीको श्रोत भन्ने हुन्छ । दुप्चेश्वर महादेवको शिवलिङ्गको ठीक तल अद्भूत रुपमा पानी निस्केको छ । त्यस्तो पवित्र स्थान डुप्चेको देवताका रुपमा डुप्चेश्वर नामाकरण गरियो भन्ने तर्क छ ।
नाम जुन रुपमा राखिएको भएपनि दुप्चेश्वर महादेव सबैका सहआस्थाको केन्द्र हुन् । दुप्चेश्वरको महिमा दिनानुदिन देश विदेशभर नै फैलिरहेको छ । भक्तजनको चापलाई ध्यानमा राखेर अहिले विभिन्न भौतिक संरचनाहरु निर्माण भएका छन् । सूर्यमति तटदेखि मन्दिरसम्म फाइबर छाना सहितको सुविधासम्पन्न सिँढी, ढुँगेधारा, पाटी लगायत संरचना बनेका छन् ।

दुप्चेश्वर संरक्षण समिति
स्थानीयतहको गठनसँगै मन्दिरको संरक्षण र व्यवस्थापनको काम दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत सञ्चालन भइरहेको छ । त्यस अघि दुप्चेश्वरको संरक्षण दुप्चेश्वर संरक्षण समितिले गर्दै आएको थियो । अहिले दुप्चेश्वरको समग्र विकासका लागि गुरु योजना नै बनाएर निर्माणका कामहरु भइरहका छन् । पछिल्लो समय कोषले धार्मिक पर्यटन विकासका निमित्त विभिन्न योजनाहरु बनाएर अघि बढीरहेको छ भने मन्दिर परिसरमा विभिन्न सुविधाहरु थप गर्दै आएको छ ।

दुप्चेश्वर दर्शनका लागि आउने पाहुनाहरुका लागि क्षेत्र विकास कोषले कोशेली घर समेत सञ्चालनको तयारी गरेको छ । २०८१ साल श्रावण महिनाबाट शुरु भएको दुप्चेश्वर महादेव तथा सूर्यमति गङ्गा आरतीले मन्दिरको धार्मिक एवम् पर्यटकीय महत्वलाई अझ माथि पुर्याएको छ । हाल मन्दिर परिसरमा प्रत्येक शनिवार मध्यान्ह र सोमबार साँझ दिव्य सन्ध्या आरती हुने गरेको छ ।

दुप्चेश्वर महादेव मन्दिरले यस क्षेत्रको आर्थिक विकासमा समेत सकारात्मक भूमिका खेलेको छ । यहाँका कृषि उपज तथा हस्तकलाका सामग्रीहरु कोशेलीका रुपमा विक्री वितरण हुन थालका छन् । दुप्चेश्वर मन्दिरलाई लक्षित गरी विभिन्न यातायात सेवा प्रदायकहरुले बस, सुमो, माइक्रो तथा विद्युतिय सवारी सेवा सञ्चालनमा ल्याएका छन् ।