
काठमाडौं,असार ३०
धार्मिक चेतना, सामाजिक उत्तरदायित्व र गौसंरक्षणको महान उद्देश्य बोकेर श्री पशुपति मासिक ज्ञान महायज्ञ २०८२ को शुभारम्भ भएको छ। बेवारिसे रूपमा सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार, पालन तथा स्थायी गौशाला निर्माणका लागि समर्पित यो विशेष धार्मिक कार्यक्रम साउन १ गतेदेखि ३१ गतेसम्म श्री पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर अगाडिको खुला चौरमा भव्य रूपमा आयोजना हुँदैछ।
हिन्दू धर्ममा गाईलाई माता धर्मको आधार र लक्ष्मीको प्रतीक मानिन्छ। तर आजका दिनमा शहरका सडकमा बेवारिसे, रोगी र बेबारिसे अवस्थामा गाईबाच्छा देखिनु दु:खद र चिन्ताजनक विषय बनेको छ। यही समस्या समाधान गर्न र धर्मको मर्म अनुसार गौरक्षाको सन्देश फैलाउन महायज्ञको आयोजना गरिएको हो।
महायज्ञमा कथा वाचन गर्दै हुनुहुन्छ आध्यात्मिक मार्गदर्शिका श्री योगिनी सरितानन्दनी र प्रमुख वाचकका रूपमा प्रख्यात पण्डित आचार्य श्री नारायण खनाल। उहाँहरूको दिव्य वाणीमार्फत सिव पुराण, भागवत, धर्मशास्त्र र जीवनका मूल्यमाथि आधारित सन्देशहरू दिइँदैछ, जसले भक्तजनलाई आत्मकल्याणको मार्गमा अग्रसर गराउने छ।
महायज्ञको सम्पूर्ण आम्दानी तथा जनसहभागिता बेवारिसे गाईबाच्छाको लागि निर्माण गरिने स्थायी गौशाला तथा उपचार केन्द्रमा खर्च गरिनेछ। यो अभियान केवल धार्मिक कार्यक्रम होइन, समाज परिवर्तन र प्राणी मात्र प्रतिको करुणा जगाउने यज्ञ पनि हो।
सम्पूर्ण श्रद्धालु, धर्मप्रेमी, सामाजिक अभियन्ता र सेवाभावी नागरिकहरूलाई महायज्ञमा सहभागी भई पुण्य कमाउने, गौरक्षाको पवित्र कार्यमा हातेमालो गर्ने हार्दिक निमन्त्रण गरिएको छ।
मिति: २०८२ साउन १ गतेदेखि ३१ गतेसम्म
स्थान: राम मन्दिर अगाडि खुल्ला चौर, श्री पशुपतिनाथ मन्दिर परिसर
मुख्य वाचक: आचार्य पण्डित श्री नारायण खनाल
विशेष सहभागिता: श्री योगिनी सरितानन्दनी