
अपि पावरको ६०% लगानी, सुर्यकुण्ड हाइड्रोको निर्माण स्थानीय रोजगारी, पूर्वाधार विस्तार र आर्थिक समृद्धिको नयाँ सम्भावना
नुवाकोट, असार २९
नेपालको समृद्धिको आधार मानिने ऊर्जा क्षेत्रमा एउटा ऐतिहासिक सफलता थपिएको छ। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदी मा निर्माण सम्पन्न ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलबिधुत आयोजना यही असार २३ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ।
यस आयोजनाको निर्माण सुर्यकुण्ड हाइड्रो-इलेक्ट्रिक लिमिटेडले गरेको हो, जसमा अपि पावर कम्पनी लिमिटेडको ६० प्रतिशत लगानी रहेको छ। बाँकी सेयर स्थानीय र निजी लगानीकर्ताको साझा सहभागितामा रहेको छ, जसले सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ।
उत्पादित बिधुत दुप्चेश्वर–१ स्थित पावरहाउसबाट ३३ केभी क्षमताको ट्रान्समिसन लाइनमार्फत समुन्द्रटार सव-स्टेशन हुँदै केन्द्रीय प्रशारण प्रणालीमा प्रवाहित भइरहेको छ। अब यो आयोजनाबाट प्राप्त ऊर्जा राष्ट्रिय बिधुत प्रणालीमा मिसिँदै देशको ऊर्जा आपूर्ति सुदृढ गर्न सहयोग पुर्याइरहेको छ।
आयोजनाको निर्माण तथा सञ्चालनको क्रममा दर्जनौँ स्थानीय जनशक्ति प्रत्यक्ष रोजगारीमा संलग्न भएका छन्। यसले युवाहरूलाई प्राविधिक ज्ञान, अनुभव र आत्मविश्वास दिलाएको छ।
परियोजना सञ्चालकले दुप्चेश्वरटिभी डट कम सँगको कुराकानीमा बताएः
“नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो। तर पूर्वाधार अभाव र नीतिगत जटिलताका कारण आजसम्म हामी भारतबाट बिधुत आयात गरिरहेका छौं। यदि नेपाल सरकारले यस्ता आयोजना सहज रूपमा अघि बढाउन आवश्यक सहयोग र वातावरण बनाइदिने हो भने देशको आर्थिक समृद्धि धेरै टाढा छैन।”
जलबिधुत उत्पादन वातावरणमैत्री ऊर्जा स्रोत हो। माथिल्लो तादी खोलाको यो आयोजना पर्यावरणीय संरक्षण, स्थानीय समुदायको समावेशी सहभागिता, र सामाजिक उत्तरदायित्वको दृष्टिले पनि उदाहरणीय छ। आयोजना वरपरको पूर्वाधार विकासले जनचेतनामा समेत यसले सकारात्मक प्रभाव पुर्याइरहेको छ।
११ मेगावाट बिधुत उत्पादनबाट न केवल स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन देखिएको छ, बरु राष्ट्रिय ऊर्जा सुरक्षामा थप भरोसा जगिएको छ।
विदेशी आयात घटाउँदै, आन्तरिक उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यस्ता आयोजना अपरिहार्य छन्।